विदेशबाट मताधिकारबारे सम्भाव्यता अध्ययन सुरुकान्तिपुर संवाददाता
लन्डन , असार २९ - विदेशमा बस्ने नेपालीका लागि मताधिकारबारे सम्भाव्यता अध्ययन सुरु भएको छ । विदेश बस्ने करिब बत्तिस लाख नेपाली देशको स्थानीय तथा आम निर्वाचनमा मत हाल्न वञ्चित भएको आवाज उठिरहँदा निर्वाचन आयोगले यसबारे अध्ययन थालेको हो । आयोगको रणनीतिक योजनामा सम्भाव्यता अध्ययन सम्बन्धी व्यवस्था भए बमोजिम गठित समिति यतिखेर प्रारम्भिक अध्ययनमा देश बाहिर छ ।
नेपालीहरु उल्लेख्य भएका बेलायत, अमेरिका, अष्टे्रलिया, खाडी लगायत मुलुकमा मताधिकारबारे प्रारम्भिक अध्ययन थालिएको बेलायत आइ पुगेकी निर्वाचन आयुक्त इला शर्माले जनाइन् । 'वदेश बस्ने तीस लाख भन्दा बढी नेपाली आफ्नो देशको निर्वाचनमा वञ्चित हुनु हुन्न भन्नेमा आयोग गम्भीर थियो', शर्माले लन्डनस्थित नेपाली दूतावासमा गैर आवासीय नेपालीहरुबीचको छलफलमा भनिन्, 'निष्पक्ष र कानुन संगत ढंगले कसरी प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउने भन्ने सवालमा हामीले सुझाव सल्लाह संकलन थालेका हौं ।'
आयुक्त शर्माले नागरिकको मताधिकार प्रयोग सम्बन्धी वर्तमान व्यवस्थाबारे अवगत गराउँदै विदेशमा मतदाता नामावली संकलन कसरी गर्ने, मतदान केन्द्र कहां राख्ने, विदेशमा रहेका नागरिकको मताधिकार प्रयोगबारे अन्तर्राष्ट्रिय अभ्यास के कस्तो छ आदिबारे सुझाव सल्लाह मागेकी थिइन् । आगामी दुई महिनाभित्र अध्ययन प्रतिवेदन आयोगसमक्ष बुझाइने छ ।
छलफलमा सोलिसिटर राजु थापाले कानुनले नेपाली नागरिकलाईमात्र मताधिकार दिएको अवस्थामा विदेशी नागरिकता लिइसकेका नेपालीलाई मतदानमा सहभागी गराउन पहिले नीतिगत व्यवस्था स्पष्ट हुनुपर्ने सुझाव दिएका थिए ।
गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष कृष्ण तिमल्सेनाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मतदाता नामावली संकलनमा स्वयंसेवी भूमिका निर्वाह गर्न एनआरएन तयार रहेको आश्वासन दिएको थियो । नेपाली दूतावास नै राज्यको प्रतिनिधिमुलक निकाय भएकाले मतदान केन्द्र दूतावासमा राख्न उचित हुने राय कतिपयले दिएका थिए । उक्त छलफलमा एनआरएनए यूकेले शर्मासमक्ष एउटा ज्ञापनपत्र समेत दिएको छ । ज्ञापनमा विदेश बस्ने नेपालीलाई मताधिकारको उचित व्यवस्था हुनुपर्ने माग छ । ज्ञापनपत्र सचिव संगीता मरहट्ठाले पढेर सुनाएकी थिइन् ।
निर्वाचन आयुक्त शर्माले नेपाल पत्रकार महासंघ बेलायत प्रतिनिधि, वुद्धिजिवी, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसंग समेत चरण चरणमा राय सल्लाह लिएकी थिइन् । उनी अध्ययनकै लागि अब बेल्जियम जाने कार्यक्रम छ ।
बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, पाकिस्तान, थाइल्याण्ड, पोर्चुगल, डोमिकन रिपव्लिक, मोजाम्बिक, सेनेगल, अफगानिस्तान, होन्डुरस आदि देशका नागरिकलाई विदेशमा बसेर समेत मत हाल्न पाउने अधिकार छ । भारतले मतदान व्यवस्था नगरेपनि कुटनीतिक नियोगमा गएर नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।via kantipur

No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?