१ साउन, काठमाडौं । संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले
नेकपा एमालेसँग अब वास्तविक लडाइ सुरु हुने बताएका छन् । एमालेका पूर्वनेता
समेत रहेका श्रेष्ठले एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली
पहिचानविरोधी भएको आरोपसमेत लगाएका छन् ।
‘एमालेसँग अब वास्तविक लडाइ
सुरु हुन्छ । माधव र झलनाथ भनेको ढुलमुले हुन् । तर, केपी आफ्नो विचार र
अडान परिवर्तन गर्दैनन्’ श्रेष्ठले अनलाइनखबरसँग भने- अब एमाले र हामी
आमने-सामने हुन्छौं ।’
महासचिव
श्रेष्ठका अनुसार पहिचानविरोधी कित्ताको नेतृत्व ओलीले गर्नेछन् भने
एमाओवादी, संघीय समाजवादीसहितको संघीय गणतान्त्रिक मोर्चाले पहिचान
पक्षधरको अगुवाइ गर्नेछ ।
माधव नेपाल महासचिव हुँदा ०६३ साउन-भदौको
केन्द्रीय कमिटी बैठकले जातीय, भाषिक तथा क्षेत्रीय स्वायत्ततासहितको
संघीयताको अवधारणा बनाएको र झलनाथ खनालले त्यसलाई टेकेर नै १५ प्रदेशको
प्रस्ताव पहिलो संविधानसभामा पठाएको श्रेष्ठले बताए । संघीय समाजवादीका
महासचिव श्रेष्ठले भने- ‘तर, अन्तिममा माधव र झलनाथ केपीको सात प्रदेशको
पक्षमा आए ।’ अब एमालेले बहुपहिचानलाई पनि छाडेर भौगोलिक पहिचानमा जाने
उनको दाबी छ ।
आफ्नो पार्टी संघीय समाजवादीलाई एमालेको दस्ताबेजमा
हानिकारण विचार बोक्ने पार्टी भनेकोलाई श्रेष्ठले ‘कागले आफ्नो नाम आफैं
लिएको’ बताएका छन् । ‘जसको १५ पदाधिकारीमा १३ जना एउटै जाती समुदायको मात्र
छ, त्यही पार्टी नै हानिकारक हो’ उनले भने-’पहिलो संविधानसभाबाट संविधान
नबन्नुमा एमालेको हानिकारक विचार नै बाधक हो ।’

No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?